कोरोना भाइरस : सतर्कता जरुरी
Last updated on January 20th, 2020 at 02:57 pm
Source: http://annapurnapost.com/news/145794
चीनको वुहानबाट स्वदेश फर्किएका ३१ वर्षीय नेपाली विद्यार्थीलाई सामान्य ज्वरो आयो। उनी नोबेल कोरोना भाइरसको लक्षण हुन सक्ने शंका गर्दै जँचाउन पुगे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।
चीनमा दुई जनाको ज्यान लिएको नोबेल कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत सतर्कता अपनाउन अपिल गरेको छ। शुक्रराज अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘ वुहानबाट आएका विद्यार्थीमा सामान्य ज्वरो थियो। छातीको एक्सरे गरियो। इन्फ्लुएन्जालगायत सबै कुराको परीक्षण गरियो। नोबेल कोरोना भाइरस भेटिएन। सन्चो भएपछि डिस्चार्ज गरिएको छ।’
शुक्रराज ट्रपिकल अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले समेत ती व्यक्तिलाई भेटेका थिए। उनले भने, ‘ती विद्यार्थीले ज्वरो आएको र श्वास फेर्न गाह्रो भइरहेको बताएका थिए। स्वास्थ्य परीक्षण गर्दै निगरानीमा राखिएको थियो। नोबेल कोरोना भाइरस भएको पुष्टि भएन।’
जोखिम कति ?
चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सक बताउँछन्। यस भाइरसको संक्रमण थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ।
मध्यपूर्वी मुलुकमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) र चीनमा सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसले सताएको पृष्ठभूमिमा नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्ला भाइरस पनि यसैको सदस्य हो। कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो।
डा. पुनका अनुसार सात वर्षअघि पत्ता लागेको मर्स कोरोना भाइरसको मृत्युदर उच्च छ। तर, मर्सको तुलनामा सार्स भाइरसको मृत्युदर न्यून मानिएको छ। अहिलेको भाइरस नयाँ भएकाले यसको नामकरण पनि नोबेल कोरोना भाइरस राखिएको डा. पुनले बताए। ‘जनावरबाट मान्छेमा भाइरस सरेको हो। मान्छेबाट मान्छेमा कति छिटो सर्छ भन्नेमा अध्ययन/अनुसन्धान भइरहेको छ’, उनले भने।
संक्रमण फैलिएको क्षेत्रमा आवतजावत भएमा जोखिमको सम्भावना बढ्ने डा. पुनले बताए।
लक्षण
- ज्वरो आउने
- खोकी लाग्ने
- श्वासप्रश्वासमा कठिनाइ हुने
- निमोनिया हुने
- विभिन्न्न अंगमा असर पुग्ने
- मृत्यु हुने जोखिम
नेपालमा चीनबाट आउने पर्यटक एवं विद्यार्थीको उच्च निगरानी गरिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए।
उनले भने, ‘यसका लागि त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय पारिएको छ।’ कोरोना भाइरसको संक्रमणपछि श्वासप्रश्वासमा कठिनाइ भएर निमोनिया ज्यान जाने गरेको छ। चीनमा ४० भन्दा बढी व्यक्ति संक्रमित छन्।
जोगिने उपाय
- सरसफाइमा ध्यान दिने
- खोक्दा, हाँच्छिउँ गर्दा रुमालले मुख छोप्ने
- मासु, अन्डा राम्रोसँग पकाएर खाने
- संक्रमित व्यक्तिबाट टाढा रहने
क्लिनिक वान का सुविधाहरु : https://clinicone.com.np/#services
क्लिनिक वानको सम्पर्क नं : 015400400, 9863393960, 9801109235