हैजाको जोखिममा को पर्छन् र यसबाट कसरी बच्ने ?
Last updated on November 17th, 2024 at 11:25 am
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पिडित हुन्छन् र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हैजाबाट हुने गर्छ ।
काठमाडौंमा पनि आज भोलि हैजाको प्रकोप बढिरहेकोले नेपाल सरकारले हालै मात्र काठमाडौं बासीहरुलाई सर्तक रहनका लागि विज्ञप्ती जारी गरेको छ ।
बर्षायाममा लाग्ने यस रोगको बारेमा जान्न एकदमै जरुरी छ । आजको यस आर्टिकलमा हामी हैजाको बारेमा विस्तृत रुपमा छलफल गर्नेछौँ ।
नेपालमा हैजाको अवस्था के छ ?
हैजाको प्रकोप नेपाल जस्तो देशका लागि चिन्ताको विषय हो ।
यस वर्ष मनसुन सुरु भए यता काठमाडौं उपत्यकामा १९ वटा हैजाका बिरामी फेला परेका छन् ।
नेपालले बर्षेनी वर्षायाममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ ।
सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो ।
जाजरकोटमा हैजाबाट ३० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान गरिएको छ । त्यसमध्ये ५०० भन्दा बढी मानिसहरूले हैजाबाट आफ्नो ज्यान गुमाएका थिए ।
हैजा भनेको के हो ?
हैजा अर्थात् Cholera भाईब्रो कोलेरा “Vibrio cholerae” भन्ने जीवाणुबाट लाग्छ ।
हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ ।
हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ ।
यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ ।
हैजा एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ । यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ ।
हैजा कसरी सर्छ ?
हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो ।
यदि हामीले हैजाको ब्याक्टेरियाबाट दूषित पानी वा खानेकुरा खायौ भने हामी हैजाको जोखिममा पर्न सक्छौँ ।
विशेष गरी महामारीको बेला हैजा रोगबाट संक्रमित व्यक्तिको दिसाले, पानी वा भोजन दूषित भएको छ भने हैजाको संक्रमण बढ्न सक्छ ।
फोहोर र पिउने पानी तथा अपर्याप्त उपचार भएका क्षेत्रहरूमा यो रोग तीव्र गतिमा फैलिन सक्छ ।
हैजा रोगको जोखिममा को को पर्छन् ?
स्वच्छ पिउने पानी र सरसफाइको राम्रो प्रबन्ध नभएको ठाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई हैजाको खतरा बढी हुन्छ ।
हैजा रोगका लक्षणहरु के के हुन् त ?
हैजा रोगको किटाणुसँग सम्पर्कमा आउने अधिकांश मानिसहरू बिरामी हुँदैनन् र आफू संक्रमित भएको थाहा पाउँदैनन् । तर उनीहरुको दिसामा ७ देखि १४ दिनसम्म हैजाका ब्याक्टेरियाहरू हुन्छन् ।
हैजा रोगको किटाणुहरु यदि दूषित पानीमा परे भने अरूलाई पनि संक्रमण गर्न सक्छन् ।
हैजा लागेको व्यक्तिहरुमा निम्न प्रकारका हैजाको संक्रमणका लक्षणहरु देखिन सक्छन् :
१. पखाला
हैजा लागेका व्यक्तिहरुमा पखाला अकस्मात देखा पर्छ र यसले तुरुन्तै शरीरभित्रका तरल पदार्थको क्षति पुर्याउन सक्छ ।
हैजा लागेका व्यक्तिले एक घण्टामा लगभग १ लिटर जति शरीरभित्रका तरल पदार्थ गुमाउँछन् ।
हैजाको कारण लागेको पखालामा दिसा चामल पखालिएको पानीजस्तै सेतो देखिन्छ ।
२. वाकवाक लाग्ने र वान्ता हुने
वान्ता विशेष गरी हैजाको प्रारम्भिक चरणमा हुन्छ र घण्टौंसम्म रहन सक्छ।
३. जलवियोजन (Dehydration)
हैजाका लक्षणहरू सुरु भएको केही घण्टाभित्रै जलवियोजन हुन सक्छ र यो हल्कादेखि गम्भीर हुन्छ । शरीरको तौल १०% वा त्योभन्दा बढी दरले कम हुनुले गम्भीर जलवियोजनलाई संकेत गर्छ ।
हैजाबाट जलवियोजन भएका मानिसहरुमा जिउ चिलाउने, थाक्ने, आँखा गाडिने, मुख सुक्ने, अत्यधिक तिर्खा लाग्ने, रक्तचाप कम हुने र मुटुको धड्कन अनियमित हुने जस्ता लक्षणहरु देखिन सक्छन् ।
जलवियोजनले हाम्रो रगतमा खनिज पदार्थहरूको तीव्र क्षति गराउँछ । सोडियम, क्लोराइड र पोटासियमजस्ता खनिज पदार्थहरूको तीव्र क्षतिले गर्दा मांसपेशीहरू दुख्ने जस्ता समस्या देखिन्छ ।
जलवियोजनका कारण हाम्रो शरीरमा रगतको मात्रा कम हुन्छ । रगतको मात्रा कम हुँदा रक्तचाप घट्छ र शरीरमा अक्सिजनको मात्रा घट्छ। समयमा उपचार गरिएन भने, गम्भीर Hypovolemic shock ले गर्दा बिरामीको केही मिनेटमै मृत्यु हुन सक्छ ।
४. अन्य लक्षणहरु:
- रक्तचाप कम हुने
- मुटुको ढुकढुकी बढ्ने
- बेचैनी वा चिडचिडापन हुने
हैजा रोगबाट कसरी बच्ने ?
हैजा रोगबाट बच्न हामीले हाम्रो खानपान तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
- विशेष गरी शौचालय प्रयोग गरेपछि र खाना खानु अघि र पछि साबुनपानीले हात धुनुपर्छ । यदि साबुन र पानी उपलब्ध छैन भने ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ ।
- त्यस्तै पिउने पानीलाई उमालेर तथा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । साथै हामीले पूरै पकाएको तातो खाना खानुपर्छ ।
- सकेसम्म ठेलामा राखेका खानेकुराहरु जस्तै पानीपुरी, चटपटे इत्यादि नखाने र काँचो फलफूल तथा तरकारीहरु खानुभन्दा अगाडी त्यसलाई राम्ररी पखालेर मात्र खानुपर्ने हुन्छ ।
- फोहोर, दिसा, पिसाबको राम्ररी व्यवस्थापन गर्नुपर्छ र पानीको मुहान छेउमा फोहोर गर्नु हुँदैन।
हैजा रोगको घरेलु उपचार के छ ?
अधिकांश मानिसहरूले हैजाको घरमै सजिलै उपचार गर्न सक्छन् । झाडापखाला सुरु भएपछि हामीले मौखिक रुपमा पुनर्जलवियोजन (Oral Rehydration) गर्न सक्छौँ ।
हामीले एक लिटर पानीमा एक प्याकेट जीवनजल मिसाएर हैजाका बिरामीहरूलाई दिन सकिन्छ ।
बिरामीहरूलाई पहिलो दिन मध्यम जलवियोजन (Mild Dehydration) को उपचार गर्न ६ लिटरसम्म जीवनजल आवश्यक पर्न सक्छ ।
कस्तो बेलामा डाक्टर कहाँ जाने ?
यदि तपाईलाई गम्भीर पखाला लागेको वा बान्ता भएको छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् ।
साथै तपाईलाई गम्भीर जलवियोजन भएको खण्डमा तुरुन्तै नजिकको उपचार केन्द्रमा गएर डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।
डाक्टरसँग परामर्श लिनुहोस्>>>
References: https://www.mayoclinic.org/diseases-conditions/cholera/symptoms-causes/syc-20355287 https://www.who.int/news-room/fact-sheets/detail/cholera https://www.cdc.gov/cholera/general/index.html https://pubmed.ncbi.nlm.nih.gov/23787517/