पाठेघरको मुखको क्यान्सरको परिक्षण: Dr. Priyanka Tripathi

Last updated on January 19th, 2025 at 02:50 pm
यो परिक्षण प्रत्येक विवाहित महिला वा यौन सम्पर्कमा भएका महिलाहरुले गर्न आवश्यक छ।
यसबाट क्यान्सर रोग पत्ता लगाउनका साथै भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्नको साथसाथै अन्य यौन रोगहरुको पनि बेलैमा पहिचान र उपचार गर्न सकिन्छ।
पाठेघरको मुखको क्यान्सर विश्वमा भयाभय अवस्थामा फैलिरहेको छ। सुरुमै पत्ता लगाउन सके बिरामीलाई बेलैमा उपचार गर्न सकिन्छ।
हाल विश्वमा हरेक वर्ष ५,१०,००० पाठेघरको मुखको क्यान्सरको नयाँ केस भेटिएको छ र यो रोगको कारणले मृत्युदर २,८८,००० रहेको छ।
बिश्व स्वास्थ्य संगठन (WHO )को तथ्यांक अनुसार हाल नेपालमा पाठेघरको मुखको क्यान्सर हरेक वर्ष ३,००० भन्दा माथि नयाँ केस छ भने र त्यसबाट मृत्यु हुनेको संख्या लगभग १,८०० देखिएको छ।
पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लग्ने र यसको रोकथाम सजिलै गर्न सकिने भएकोले महिलाले पाठेघरको मुखको परिक्षण गर्न अति नै आवश्यक छ।
पाठेघरको मुखको क्यान्सर ह्यूमन पपिलोमा वाईरस (HPV )संक्रमणको कारणले हुन्छ र त्यो संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब १०-२० वर्ष लाग्दछ।
त्यहि भएर महिलाले पाठेघरको मुखको क्यान्सरको परिक्षण समयमै गरेर पहिले संक्रमित भएको बेलामै उपचार गराउन आवस्यक छ र त्यसो गरेमा क्यान्सरबाट बच्न सकिन्छ।
७०% पाठेघरको मुखको क्यान्सर HPV (१६, १८) ले गर्दा हुन्छ।

कारण/ सम्भावित खतरा हुन सक्ने समूह
- छिटो /कलिलो उमेरमै यौन सम्पर्कमा आउने महिलाहरु
- एकभन्दा बाढीसंग यौन सम्पर्क गर्ने महिलाहरु
- रोग संग लड्ने क्षमता कम भएको महिलामा ( HIV, लागु पदार्थको सेवन गर्ने)
- धेरै चोटी गर्भधारण गर्ने महिलाहरु
- धुम्रपान गर्ने
- अन्य यौनरोग भएको महिलाहरुमा
- लामो समय सम्म मिश्रित गर्वनिरोधक चक्कीको प्रयोग गर्ने
लक्षणहरु
- सुरुमा (Early stage) : लक्षण बिनाको हुन सक्छ (त्यसैले महिलाहरुले बेला बेलामा पाठेघरको परिक्षण गराउन आवश्यक छ)।
- ढिलो (Late stage) मा यी लक्षणहरु देखिन्छन्:
सम्पर्क पछि योनीबाट रगत बग्छ
कुनै पनि समयमा महिनावारी/ रक्तश्राव हुन्छ
योनीबाट गनाउने पानी बग्छ
योनी द्वारमा असामान्य खालको दुखाई हुन्छ
पिसाब फेर्दा वा दिसा गर्दा दुखाइ बढ्छ
दिइएका मध्ये कुनै लक्षण देखा परेमा तुरुन्तै डाक्टरसँग परामर्श लिन जरुरी छ।
रोकथामको लागि गरिने परिक्षण
- पाठेघरको मुखको पानीको परिक्षण (PAP Smear Test): यो परिक्षण सजिलो र सर्वसुलभ तरिका हो जसमा महिलाको पाठेघरको मुखबाट पानी निकालेर जांचको लागि पठाइन्छ।
यस जाँचले HPV संक्रमणले गराएको असामान्य कोशीकाहरु देखाउन्छ र यसलाई उपचार नगरे क्यान्सरमा परिणत हुन्छ।
यो जांच २१-६५ बर्षका उमेर समुहमा गरिन्छ, वा पहिलो यौन सम्पर्क भएको ३ वर्ष पछि सुरु गरिन्छ।
यो सामान्य रहेमा हरेक ३ वर्षमा यस जांचलाई दोहोर्याउनु पर्छ र यदि असामान्य भएमा ६ महिनामा जांचलाई दोहोर्याउनु पर्छ।
अन्तराल | जीवन भरि | क्यान्सर कम हुने सम्भावना(%) |
१ | ३० | ९४ |
३ | १० | ९१ |
५ | ६ | ८४ |
१० | ३ | ६४ |
माथि लेखिएको तथ्यांकले क्यान्सर कम हुने सम्भावना जांचको अन्तरालले देखाएको छ जस अनुसार यदि महिलाले हरेक बर्ष PAP टेस्ट गरेमा क्यान्सर हुने सम्भावना ९४ % ले कम हुन्छ , तसर्थ धेरै डाक्टरहरुले १ बर्ष अन्तरलमा गर्न सल्लाह दिन्छन्।
- HPV DNA परिक्षण: यो जांचले वाईरल लोड थाहा हुन्छ र यो परिक्षण ३० बर्षको उमेर काटे पछि हरेक ५ बर्षको अन्तरालमा गरिन्छ।
- VIA टेस्ट: यो टेस्ट सर्वसुलभ तरिकाले गर्न सकिन्छ. यो दुर्गम क्षेत्रमा पनि सजिलै गर्न सकिन्छ. नेपाल सरकारले स्वास्थ्यकर्मीहरुलाई पनि यो सम्बन्धि तालिम दिरहेको छ।
- Colposcopy: यो एउटा दूरबिन जस्तो मेसिन हो जसको मध्यमबाट केमिकलको सहायताले पाठेघरको मुखको परिक्षण गरिन्छ।
- बायोप्सी: पाठेघरको मुखबाट क्यान्सरको शंका लागेको ठाउँ बाट मासु परिक्षणको लागि पठाईन्छ।
रोकथाम गर्ने तरिका/बिधि
माथि लेखिएको पाठेघरको मुखको क्यान्सरको परिक्षण नियमित गर्नुका साथ -साथै विभिन्न खोपको पनि प्रयोग गर्न सकिन्छ।
- गार्डासिल (Gardasil): यो खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन्छ। त्यसैले यसलाई किशोरीहरुलाई लगाउन सकिन्छ।
मात्रा : ०.५ml , पाखुरामा
१५ वर्ष माथि- ३ डोज -०,२,६ महिना
१५ बर्ष मुनि- २ डोज- ५ महिना अन्तरालमा
- सर्वारिक्स (Cervarix): यो खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन्छ। यसलाई ९ वर्ष पुगि सकेका किशोरीहरुलाई दिन सकिन्छ।सामान्यत यसलाई ११-१२ बर्सको उमेरमा दिइन्छ वा यौन सम्पर्कमा न आएका महिलाहरुलाई पनि दिन सकिन्छ।
मात्रा : ०.५ml , पाखुरामा – ०,१,६ महिना
Dr. Priyanka Tripathi
August 29, 2023 @ 5:38 pm
Do you have a gardisil 12