काठमाडौँको वायु प्रदुषण। जान्नुहोस् सम्पूर्ण जानकारी

Last updated on April 13th, 2025 at 02:58 pm
हाल उपत्यकामा अधिकांशले बारम्बार आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी खसखसाउने, टाउको दुख्ने र अन्य स्वास्थ्य समस्याहरूको गुनासो गरिरहेका छन्। अस्पतालमा पनि यी लक्षण लिएर आउने बिरामीको संख्या पहिलेको भन्दा बढेको देखिन्छ।
यी लक्षणहरू विशेष गरी हिउँद र प्रि–मनसुन (वसन्त) मौसममा बढी देखिन्छन्। एक त मौसम परिवर्तन भएसँगै सतहमा रहेका हानिकारक जीवाणुको सक्रियता अर्को तर्फ वायु प्रदूषणले स्वास्थ्यमा प्रभाव देखिरहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विभिन्न वायु गुणस्तर मापन गर्ने संस्थाहरूले काठमाडौंलाई पटक–पटक विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा राखेका छन्। यसपटक त नेपालको काठमाडौं विश्वकै प्रदूषित सहरमा पहिलो नम्बरमा पर्यो।
यस्तो अवस्था किन उत्पन्न भएको छ? यसका कारणहरू के हुन् ? यसले स्वास्थ्यमा कस्तो असर पारेको छ ? चर्चा गरौं
वायु प्रदूषणको मुख्य कारणहरु
काठमाडौंको वायु प्रदूषणका लागि प्राकृतिक र मानवीय दुवै कारणले हावाको गुणस्तरलाई खतरनाक तहसम्म पुर्याएका छन्।
निर्माण कार्य र धुलो : काठमाडौंमा भइरहेका सडक विस्तार, भवन निर्माण र अन्य पूर्वाधार विकासका कार्यहरूले धुलोको मात्रा बढाएका छन्। यी धुलोका कणहरू हावामा मिसिएर प्रदूषणको स्तर बढाउँछन्। विशेष गरी सुख्खा मौसममा यस्तो धुलो हावामा लामो समयसम्म रहन्छ, जसले आँखा पोल्ने र श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गर्छ।
सवारीसाधनको चाप : उपत्यकामा दैनिक लाखौं गाडी गुड्छन्। पुराना गाडी र कम गुणस्तरको इन्धनले धेरै धुवाँ निस्कएर हावामा फैलिन्छ।
डढेलो : नेपालका जंगलमा हरेक वर्ष लाग्ने आगोले धुवाँको बादल बनाउनु।
फोहोर जलाउने कारण : घर र खेतमा फोहोर जलाउँदा विषाक्त ग्यास निस्कनु।
यसबाहेक हाल छिमेकी मुलुक भारत र चीनमा लागेको डढेलोले पनि वायुमण्डलमा कार्बन डाईअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, क्लोरोफ्लोरो, कार्बन मोनोअक्साड लगायत अन्य कणहरूको उत्पादन बढेर वायुको माध्यमबाट नेपालमा पनि आउने भएकोेले प्रदूषण थप बढेको हो।
काठमाडौंको वायु गुणस्तरको अवस्था
आईक्यू एयरजस्ता संस्थाहरूले काठमाडौंको वायु गुणस्तर सूचकांक मापन गर्छन्। सन् २०२५ को अप्रिलमा काठमाडौंको आईक्यू एयर स्तर २०० देखि ३५० सम्म पुगेको थियो, जुन निकै अस्वस्थ तहमा पर्छ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मापदण्डअनुसार पीएम २.५ को औसत वार्षिक मात्रा १० माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हुनुपर्छ, तर काठमाडौंमा यो १०० देखि ३०० सम्म पुग्छ—अर्थात् मापदण्डभन्दा १० देखि ३० गुणा बढी छ।
काठमाडौंको पछिल्लो १० वर्षको प्रदूषणको सूचांक
काठमाडौंको वायु प्रदूषणको स्तर मापन गर्न पीएम २.५ (२.५ माइक्रोनभन्दा साना कण) लाई आधार मानिन्छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पीएम २.५ सुरक्षित वार्षिक औसत ५ μजी/एम³ तोकेको छ। तर, काठमाडौंको अवस्था हेर्दा यो मापदण्डभन्दा ९–१० गुणा बढी प्रदूषण देखिन्छ। यहाँ पछिल्लो १० वर्षको औसत पीएम २.५ डेटा प्रस्तुत गरिएको छ।
(μजी/एम³ यसको अर्थ माइक्रोग्राम प्रति घनमिटर)
- २०१५ः ५० μजी/एम³ (अस्वस्थकर)
- २०१६ः ४८ μजी/एम³ (अस्वस्थकर)
- २०१७ः ४५.९ μजी/एम³ (मध्यमदेखि अस्वस्थकर)
- २०१८ः ५४.४ μजी/एम³ (उच्चतम स्तर)
- २०१९ः ४८ μजी/एम³ (अस्वस्थकर)
- २०२०ः ४४.५ μन/m³ (कोभिड लकडाउनले कम)
- २०२१ः ४९ μजी/एम³ (अस्वस्थकर)
- २०२२ः ५१ μजी/एम³ (अस्वस्थकर)
- २०२३ः ५२ μजी/एम³ (अस्वस्थकर)
- २०२४ः ५३ μजी/एम³ (अनुमानित औसत)
- २०२५ : ५३ μजी/एम³ देखि ५६को बीच ब्μजी/एम³ (अति अस्वस्थकर)
यो तथ्यांकले के देखाउँछ भने काठमाडौंको हावा हरेक वर्ष ‘अस्वस्थकर’ (१०१–१५०) श्रेणीमा पर्छ। सन् २०१८ मा प्रदूषण उच्च बिन्दुमा पुगेको थियो भने २०२० मा कोभिड–१९ का कारण लकडाउन हुँदा गाडी र उद्योगको गतिविधि कम भएर प्रदूषण केही घटेको देखिन्छ। तर, समग्रमा सुधारको कुनै संकेत छैन। मौसमी प्रभावले पनि ठूलो भूमिका खेल्छ—सुख्खा मौसम (नोभेम्बर–मार्च) मा डढेलो र हावाको गति कम हुँदा प्रदूषण बढ्छ, जबकि मनसुनमा पानीले हावालाई केही सफा गर्छ।
हालसालै देशभर भइरहेको वर्षाले थोरै मौसम सफा भएको छ , तर विज्ञहरुको अनुसार केही दिनको वर्षाले प्रदूषण शून्य हुने अवस्थामा छैन।
केही दिन अझै सर्तकता अपनाउन आवश्यक छ।
सो वायु प्रदुषणले कस्ता स्वास्थ्य समस्या देखा परेको छ?
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरु यसबाट बढी प्रभावित छन्।
आँखामा समस्या
हाल धेरैमा आँखा पोल्ने, चिलाउने रातो हुने समस्या देखिएको छ। यसको कारण हो, हावामा रहेका सूक्ष्म कण र रासायनिक ग्यासहरूले आँखाको सतह एक्सपोज हुनु।
विशेषत यो समस्या विशेष गरी बिहान र साँझको समयमा बढी हुन्छ, जब प्रदूषणको तह उच्च हुन्छ।
श्वासप्रश्वासमा कठिनाइ
कतिपयलाई भने श्वासमा समस्या हुनसक्छ।
पीएम २.५ जस्ता सूक्ष्म कणहरू फोक्सोसम्म पुग्छन्, जसले श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र दमको समस्या निम्त्याउँछ। पीएम अर्थात पार्टीकुलर म्याटर हावामा मसिएिका २।५ माइक्रोन भन्दा साना सूक्ष्म कणहरूलाई जनाउँछ। एक माइक्रोन भनेको एक मलिमिटिरको एक हजारौं हिस्सा हो, त्यसैले यी कणहरू यति साना हुन्छन् नाङ्गो आँखाले देख्न सकिँदैन।]
प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या बढेको छ। यो प्रदूषण लामो समयसम्म रही रहने हो भने दीर्घकालीन रूपमा यसले फोक्सोको क्यान्सर र हृदयरोगको जोखिम पनि बढाउँछ।
फोक्सोमा समस्या
प्रदूषणमा धेरै खालका रसायन हुन्छन्। हाम्रो नाङ्गो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन्। रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ।
तर वायु प्रदूषण १० माइक्रोग्रामभन्दा पनि साना हुन्छन्, जुन फोक्सोको भित्री तहसम्म पुग्छन्। ठूला साइजका धुलाका कण माथिल्लो श्वासनली बाहिर बस्छन्। जसका कारण हाम्रो शरीरको नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, खोक्दा कालो खकार आइरहेको हो।
अत्यन्तै साना कण फोक्सोको भित्री तहसम्म पुग्छन्। जसले दम, श्वासप्रश्वासमा समस्या, छातीमा संक्रमण हुन्छन्। साथै केहीमा पुरानो दमसँग सम्बन्धित समस्या छ भने अचानक दम हुने, श्वासप्रश्वासमा समस्या, अक्सिजनको मात्रा कम हुने र बेहोस नै हुने अवस्था आउँछ।
अन्य प्रभाव
प्रदूषणले टाउको दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने र छालामा एलर्जी जस्ता समस्याहरू पनि निम्त्याएको छ। लामो समयसम्म प्रदूषित हावामा बस्दा मानसिक तनाव र रक्तचापको जोखिम पनि बढ्छ।
वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन, स्वस्थ व्यक्तिमा समेत देखिएको छ। स्वस्थ मानिसलाई बारम्बार खोकी लागि राख्ने र निको हुनै गाह्रो भइरहेको छ।
येदि यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परिक्षण गरी हाल्नुस !
माथि दिइएका स्वास्थ्य समस्या देखिएमा के गर्ने ?
- बाहिर ननिस्कने, घरभित्र बस्ने र झ्याल–ढोका बन्द राख्ने।
- एननाइटीफाइभ मास्क लगाउने, जसले प्रदूषणका साना कण (एः२.५) लाई कम गर्छ।
- प्रशस्त पानी पिउने (दिनमा २–३ लिटर), जसले घाँटी सफा राख्छ र शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ।
- तातो पानी वा जडीबुटी चिया (अदुवा, तुलसी) पिउँदा राहत मिल्छ।
- नाकमा प्रदूषणको कण जम्मा भएको छ भने नुनपानीले सफा गर्ने।
- स्वासको समस्या भए, गहिरो सास फेर्न। गाह्रो भए बाफ लिने र तातो पानीमा केही थोपा पुदिना वा कपुर हालेर बाफ लिँदा फोक्सो खुल्छ।
चिकित्सकलाई कहिले देखाउने ?
- सास फेर्न धेरै गाह्रो हुने,
- छाती दुख्ने वा स्याँस्याँ हुने।
- खोकीमा रगत देखिने वा ज्वरो आउने।
- आँखा धेरै रातो हुने वा दुखाइ बढ्ने।
- लक्षणहरू २–३ दिनसम्म कम नहुने।
बिरामी भएपछि के नगर्ने ?
- बाहिर हिँड्ने वा व्यायाम नगर्ने। बरु केही दिन आराम गर्ने। किनभने बाहिर यी क्रियाकलापले गर्दा प्रदूषणले फोक्सोलाई झन् असर गर्छ।
- चुरोट, धुवाँ वा धूलोबाट टाढा रहने।
- चिसो पेय पदार्थ वा फ्रिजको पानी नपिउने।
रोकथाम कसरी गर्ने ?
- प्रदूषण बढेका बेला बाहिर कम निस्कने।
- घरमा हावा सफा राख्न इन्डोर प्लान्ट राख्ने। यसले पनि वरपर फैलिएको विषाक्त पदार्थ सोसेर हावालाई शुद्धिकरण गर्छ।
- स्वस्थ खाना (हरियो साग, फलफूल) खाएर रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने।